Description
नाटक ‘मान भर्सेस मती’ थिएटर मलको पूर्ण रुपमा आफ्नै निर्माणको तेस्रो नाटक हो । यद्यपी विभिन्न नाट्य संस्थासंग सहकार्य गर्दै स्थापनाको १६ महिनामा यस नाटकघरमा ९ वटा नाटक मञ्चन भएका छन् । यो नाटक मध्यम वर्गको सामान्य परिवारको अति सामान्य कथामा बुनिएको छ । अझ निश्चित सोँच र समय बोकेका निश्चित पात्रको असमान्य लाग्ने सामान्य व्यवहारलाई नै दृश्यात्मक बनाउने प्रयत्न गरिएको छ । एकै परिवार भित्रका फरक उमेर र फरक भोगाईकाबीच फरक फरक चाहनाको झोला भिरेका केही पात्रहरु अभिमान र विवेकबीचको द्वन्द्व बाकेर सल्बलाउने प्रयत्न गरेका छन् । पारिवारिक सम्बन्धको जालो सामान्य परिस्थितिमा गाँठिलो बन्छ र परिस्थिति असमान्य बन्दा झन् गाँठिलो बन्छ । त्यस्तै त्यही सम्बन्धको जालो सामान्य घटना र सन्दर्भमै खुकुलो बन्ने गर्छ भने कहिलेकाँही असमान्य परिस्थितिको हिर्काइबाट चुडिन पनि सक्छ । यसर्थः विश्वासमा बुनिएको सम्बन्धको अर्को रुप हुन्छ भने त्यो पनि विश्वास नै हो । यो कुनै नयाँ कुरा पनि होइन, ‘परिवार कायम राख्न एक आगो हुँदा अर्को पानी बन्नुपर्छ’ । र यो पनि नयाँ होइन कि, ‘रथ चल्न दुबै पांग्रा चाहिन्छ’ । नाटकको कथावस्तु कोही कसैको जीवनसँग मेल खान गएमा हाम्रो भन्नु केही छैन ।
Directional Note
साथी रमेश भट्टराईले बसभित्रको एक घटना सुनाएपछि मैले त्यो घटनाको अघिपछि हुनसक्ने कथाहरु खोतल्दा यो नाटक लेखिएको हो । २०६७ सालमै मैले यसको पहिलो रुप कोरेको थिएँ । विषयवस्तुमा दम नलागेपछि त्यत्तिकै थन्काएको थिएँ । तर पाँच वर्षपछि साथीहरुले त्यही पढ्दा भने नाटक गर्न हौस्याएपछि आज यसको फेरि जन्म भएको छ । आफैलाई नढाँटी भन्नुपर्दा विषयवस्तुका हिसाबले मलाई यस नाटक मन पर्ने सन्तान बन्न सकेन, तर आफूलाई मन नपरेको भित्र पनि केही सुन्दर पक्ष हुनसक्छ भन्ने यथार्थलाई पनि नकार्न सकिन । परिकल्पनाका हिसाबले भने नाटकले मस्तिष्कमा धेरै अगाडिदेखि दृश्य जमाएसकेको भएपनि अल्छी गर्दै ‘मान भर्सेस मती’को पूर्वतयारी सुरु गरेको थिएँ । जब परिकल्पनालाई यथार्थमा बदल्ने क्रम सुरु भयो तब सामान्य विषयवस्तुको अतिसामान्य कुराहरुमा पनि म रमाउन थालें । सुरुका दिनहरुमा म यो नाटक अरुको लागि गर्दैछु भन्ने लागेपनि मञ्चनको समयसम्म आउँदा भने ‘म गलत रहेछु’ भन्ने महसुस भएको छ । ‘नाटक विषयवस्तु मात्र होइन प्रस्तुति पनि हो’ भन्दै साथीहरुले किचकिच गरेपछि यो नाटकलाई मञ्चन गर्ने निर्णय लिएको थिए । त्यो किचकिचको परिणाम मञ्चसम्म आइपुग्दा पहिले सामान्य लागेको कथावस्तुभित्र पनि केही गम्भिर पक्ष पनि देखेँ । अब यो हेर्ने र देख्ने कार्य प्रिय दर्शकहरुलाई छाडेको छु । यहाँहरुले जस्तो देख्नुहुन्छ त्यसरी नै हेरिदिनुहोला । यस नाटकलाई पढेर सल्लाहसहित हौस्याउने सुस्केराका साथीहरु सबैप्रति आभारी छु । नाटक निर्माणको क्रममा प्रत्यक्ष–परोक्ष साथ दिनेहरुप्रति कृतज्ञ छु ।
Cast & Crew
मञ्चमा
श्रीमान: अभय बराल
श्रीमती: प्रेमवर्षा खड्का
भाइ: कुशल पाण्डे
छोरा: ? (को हो ?)
रजनीरुपेश: सवीर चुरौटे
महिला १: शारदा अधिकारी
महिला २: रोजिना श्रेष्ठ
अधबैसें यात्रु: रोसन सुवेदी
नेपथ्यमा
पोस्टर चित्र: नारायणप्रसाद बोहजु
पोस्टर डिजाइन: रमेश भट्टराई
मञ्च परिकल्पना: केदार श्रेष्ठ
मञ्च निर्माण: सुरेश कार्की, रामशरण रेग्मी, शिवशंकर भण्डारी
वेशभूषा: सञ्जिता सञ्जी, प्रेमवर्षा खड्का
मार्केटिङ: रोशन सुवेदी
पब्लिसिटी: सवीर चुरौटे, कुशल पाण्डे
ध्वनी संयोजन: देव न्यौपाने
छोराको आवाज: अनुप पुरी
भिडियो निर्माण/संकलक: विभु पौडेल
कोरियोग्राफी: सुमनसागर जंग केसी
प्रकाश परिकल्पना: घनश्याम श्रेष्ठ
प्रकाश परिचालन: घनश्याम श्रेष्ठ, दिलजंग गुरुङ
व्यवस्थापन: आकाश मगर
कार्यकारी निर्माता: इलिना नकर्मी
निर्देशन सहयोगी: सुदाम सिके
मञ्च व्यवस्थापन: सञ्जिता सञ्जी
लेखन,परिकल्पना,निर्देशन: केदार श्रेष्ठ
Playwright, Designer & Director: Kedar Shrestha