Description
पचासको दशकमा खुब नाटक गरियो गाउँदेखि सहरसम्म । भोजपुरमा मातृभूमि रङ्गमञ्च संस्था साथीहरू मिलेर स्थापना गरी याकु गाउँलाई कर्मभूमि बनाएर त्यहीँको सामुदायिक भवनमा नाटक मञ्चन गथ्र्यौँ । छिमेकी गाउँ गन्धर्वको थियो । त्यसलाई गाइने गाउँ भनिन्थ्यो । साना केटाकेटीदेखि वृद्धहरूसम्म सारङ्गी बोकेर रेट्दै हिँड्थे । गन्धर्व दाजुहरूसँग चिनजान र संगत भएपछि त्यो गाउँको बारेमा बुझ्ने अवसर पाइयो । दुई छाक खानको लागि जो कोहीले पनि सारङ्गी रेट्नै पर्ने उही गाउँको कथा छ यस नाटकमा ।
यो नाटकको पहिलो खाका २०५६ तिरै कोरिएको हो । २०५७ तिर गाउँतिर मञ्चन गरिएको थियो । २०५८ मा मातृभूमी रङ्गमञ्चले धनकुटामा एउटा अभिनय प्रशिक्षण कार्यक्रम चलाएको थियो । त्यहाँ पनि मातृभूमि रङ्गमञ्च धनकुटा स्थापना भयो । भोजपुर र धनकुटाको (सामूहिकता) सहकार्यमामा सांस्कृतिक संस्थानद्वारा आयोजित नाटक प्रतियोगितामा यो नाटक प्रथम भएको थियो । पछि २०६१ मा गुरुकुल आरोहण र २०६२ मा नेपाल प्रज्ञा—प्रतिष्ठानमा मञ्चन भएको थियो ।
याकुका जीवन भाइको साथमा तयारी गरी तिहार अघि याकुमै तीन शो ग¥यौं । अहिले थिएटर मलका केदार श्रेष्ठले हाम्रो अनुरोधलाई स्वीकार्दै मञ्चनको सौभाग्य मिलेको छ ।
Directional Note
उहिले नाटक मनोरञ्जनको लागि मञ्चन गरिन्थ्यो । हिजोआज केही स्थापित रङ्गकर्मीहरू नाटक कलाका लागि मञ्चन गरिन्छ भन्न थालेका छन् । हुन त कलाकै माध्यमबाट मनोरञ्जन दिने हो नाटकले । तर, नाटकले समाज परिवर्तनमा विशिष्ट भूमिका खेल्दछ भन्ने मेरो बुझाइ हो ।
मैले जे देखेँ, जे सुनेँ र जे भोगेँ, त्यही लेखेँ । भोजपुर मेरो घर । मेरा माङ्दिङका गन्धर्वहरूमा कलमले ल्याउन सक्ने परिवर्तनहरू लेखेँ । चेतनाको कमी भएका दर्जी परिवारको पीडाले भरिएको ‘सनाहीका धुनहरू’ लेखेँ । अरुणका तीरमा भारी बोकेर हिँड्ने भरियाको नदीमा मिसिएका पसिनाहरूको भल लेखेँ । भारी बोक्दा भीरबाट लडेर ठहरै भएका बाबुहरूको छोराको सपना लेखेँ । ठूला ठालुबाट शोषित भरियाले सुत्केरी स्वास्नीलाई ज्वानो खुवाउन तोक्माको सहारा लिएको यथार्थता लेखेँ । लोभ, कुसंस्कार र अशिक्षाको विरुद्धमा ‘पत्थरमा नखोपिएको कथा’ लेखेँ । प्रजातान्त्रिक आन्दोलनका योद्धाहरू २०४६ सालपछाडि पनि कुनै परिवर्तन नपाउँदा पुनः क्रान्तिमा होमिने वृद्धहरूको अठोट ‘ओझेलमा परेका योद्धाहरू’ लेखेँ । नातावाद, कृपावादको कारणले बेरोजगार बनेका शिक्षित बेरोजगार, सुकुम्बासी युवाहरूलाई अधिकारको लागि लड्न आह्वान गर्ने ‘क्रमशः कथाहरू’ लेखेँ । सीमा अतिक्रमणको विरुद्धमा ‘जङ्गे पिलर लेखेँ’ । यसरी नै लेखेँ ५० भन्दा बढी नाटकहरू निर्देशन र अभिनय पनि गरेँ ।
मैले सहरमा कम र विभिन्न जिल्लाहरूमा बढी नाटक लेखेँ र मञ्चन गरेँ । मैले गाउँबस्तीका यथार्थ पात्रहरूको विभिन्न रूपहरू देखेको छु । हाँसो, पीडा, रिस, वीरता, नैराश्यता, कठोरता, माया, दया, आस्था, विश्वास, विद्रोह आदि इत्यादि । विकट ठाउँका मानिसले जीवन जिउने शैली नजिकबाट देखेको छु । मैले विभिन्न जातजातिसँग संगत गरेको छु । उनीहरूको घरमा महिनौँ बसेको छु । त्यसैले उनीहरूको कथा लेख्न पनि जानेको छु । समयको चक्रव्यूहमा बन्दी बनेर बसेका मेरा गाउँलेहरूमा क्रान्ति उम्लिएको देखेको छु । विद्रोहको भाषा उनीहरूबाट सिकेको छु र उनीहरूलाई सिकाएको पनि छु । मैले सामाजिक यथार्थ, परिस्थितिभन्दा बाहिर गएर कहिल्यै नाटक लेख्न सकिनँ । किनभने, विषयले पहिले मेरो मनलाई छुनुपर्छ, त्यसपछि मात्र दिमागलाई । मेरो दिमागले नाटक लेख्दैन । मनले लेख्छ ।
जब कुनै घटना देखेर, सुनेर अथवा भोगेर मेरो आँखा रसाउँछ, तबमात्र म नाटक लेख्छु । दिमाग बढ्ता सक्रिय गराएर कोठामा बसेर नाटक सिर्जना गर्ने नाटककारहरूले मलाई आरोप लगाउने गर्थे । हर्के, बिर्खेको कथाबाहेक अरू कुनै कथामा अनुरागले नाटक लेख्न सकेन । भारी बोकेर सुत्केरी उतार्ने, सनाही बजाएर, लुगा सिलाएर, बाली उठाएर परिवार पाल्ने, खेती किसानी गरेर बाँच्नेहरूको नाटक लेख्न मैले आफ्नो कमजोरी कहिल्यै ठानिनँ । मेरो नाटकले गाउँगाउँका गरिबहरूलाई दुःखसँग लड्न सिकाउँछ । अन्यायसँग लड्न पनि सिकाउँछ । म त्यसैमा रमाउँछु ।
Cast & Crew
मञ्चमा
मने: अशोक शिवाकोटी
हिरा: किशोर अनुराग
पोक्ची: रिता थापा
मोती: महावीर विश्वकर्मा
रने: आईपी आचार्य
ग्याँचे: आशिष खत्री
विजय: पुर्खाजित राई
सानी: सरिता तामाङ्ग
सुँगुर: राजीव तामाङ्ग
अतिथि भूमिका: राज थापा
कथावाचक: सुमन विष्ट
नेपथ्यमा
स्टेज कला: देवेन्द्र थुम्केली
पोस्टर कला: नारायणप्रसाद बोहजु
प्रत्यक्ष संगीत/स्वर: सुमन विष्ट
मञ्च निर्माण: जीवन थापा
बक्स अफिस: शिवशंकर भण्डारी
प्रचारप्रसार: महावीर विश्वकर्मा, आइपी आचार्य
भेषभुषा: रीता थापा, किशोर अनुराग
प्रकाश संयोजन: केदार श्रेष्ठ
व्यवस्थापन: जीवन थापा ‘क्षितिज’
लेखन/निर्देशन: किशोर अनुराग